‘हिरो रिटर्न्स’को औपचारिक घोषणा, रेखासँग सरोज खनाल, दिल श्रेष्ठ र सविन श्रेष्ठ देखिने

img1


नायक सविन श्रेष्ठको प्रस्तुती रहने चलचित्र ‘ हिरो रिटर्न्स’को औपचारिक घोषणा गरिएको छ । चलचित्र बजारमा यो चलचित्र बन्ने समाचार सार्वजनिक भएको लामो समय भएपनि, औपचारिक घोषणा भने भएको थिएन । आज काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै नायक सविनले चलचित्र बन्न लागेको घोषणा गरे । चलचित्रमा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक उज्ज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सविन र टिमलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै नायिका रेखा थापाले सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन् । रेखा फिल्मस्कै ब्यानरमा बनेको चलचित्र ‘अन्दाज’बाट सविनले चलचित्र नगरीमा डेब्यू गरेका थिए ।
चलचित्रका निर्माता चन्द्र गौतमले ‘दमदार’पछि दोश्रो चलचित्र निर्माणमा उत्रिएको बताए । चलचित्रमा सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ ।
चलचित्रको निर्देशन आशिष भेटवालले गर्दैछन्, जो यतिबेला अष्ट्रेलियामा छन् । चलचित्रका कलाकार सरोज खनालले यसमा आफू खलपात्रको भूमिकामा देखिन लागेको बताए ।
नायक दिल श्रेष्ठ चलचित्र ‘पर्खिराख है’ पछि यो चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्रको छायांकन काठमाण्डौ, विरगञ्ज र हेटौडामा हुनेछ । कमेडी एक्सन जनरामा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ । नवराज शर्मा चलचित्रका सह–निर्देशक हुन् ।